कथा>> / लेखहरू>> / साहित्यिक लेखहरु>> / paudelpadamprasad

अभागी रेखाको कथा

#कथा
-:अभागीनी रेखाको कथा:-

@[1532224840382998:] बाट
{तलको अत्यन्त मनछुने वास्तविक कथा पढ्नुहोस। पात्रको आज्ञा बिना नै पोस्ट गरीएको छ। पढेर सेयर गर्न नभुल्नुहोला।}

समय दिउसोको दुई बजेको थियो होला। म र एकजना साथी क्यानटिनमा चिया पिउदै थियौ। साथी काठमाडौबाट आएको, गाउको हरेक कुरा उसलाई नौलो लाग्ने, गाउका हरेक चिज उसलाई मन पर्ने, उसले गाउका समस्याहरु बुझ्न चाहेजस्तो गर्थ्यो। यत्तिकैमा उसले कुरा निकाल्यो “गाउमा कति दुख छ है, कोही नङ्ग्राले गोपट्दै गरेका, कोही गोपट्टिदै गरेका, कोही शोषक, कोहि शोषीत, कोही दवीएका, कोही दवाइएका, कोही गलगल्ती हासीरहेका, कोही चिच्याइरहेका रोईरहेका, सहरमा भन्दा त गाउमा दुर्दशा नै रहेछ त साथी।” साथीले मलाई गाउबाट आएको भनेर हेप्न खोजेजस्तो लाग्यो।उसग गाउको पक्षमा वकालत गरे गाउका राम्राराम्रा कुरा गरे, सहरलाई गिज्याए, अघि उसले भनेका कुरा उसले आफ्नै सहरको कथा सुनाएको होस भनि थर्काए, जम्मा दुई दिन गाउ डुल्दैमा गाउका समस्या बुझे भन्दो रैछ भनेर हप्काए। उसको कुरालाई जित्ने प्रयास गरे र जिते पनि । तर भित्रभित्रै भने पुरा हारिसकेको थिए। म गाउबाट गाउकै हावापानी र धुलोमा हुर्केर आएको हुनाले मैले गाउका अनेक समस्या प्रत्यक्ष रुपमै देखेको भोगेको र तिनै समस्यासग जुध्दैजुध्दै यहासम्म आइपुगेको थिए। हुनत मैले गाउका धेरै कुरा भुलिसकेको थिए । तर कहिलेकाही केही कुरा सम्झदा मन नै चसक्क हुने गरि दुख्छ। मलाई थाहा थियो, गाउका प्रत्येक घरघरमा, सबैको मनमनमा एउटाएउटा समस्या हुन्छ पीडा हुन्छ र समग्र गाउ नै कयौ समस्याबाट गुज्रीरहेको हुन्छ। तर यति कुरा थाहा हुदैपनि साथीको कुरालाई बिरोध गर्नु परेको थियो।

म बाहीरि कामहरु सकेर खाना खाइसकेर कोठामा आइपुग्दा साझको सात बजिसकेको थियो। यसो आराम गर्दै सधैजस्तै फेसबुक खोलेर, फेसबुकका पाना तिर आखा डुलाउन थाले। त्यहा एउटा ‘हेलो’ भनेर सन्देश आएको रहेछ। कुनै नया मान्छे तैपनि एउटी केटीले पहिलो पटक त्यसरी हेलो भनेकी हुनाले मलाई जवाफ दिन कर नै लाग्यो। त्यसैले मैले सोधे ‘के छ खबर?  सन्चै हुनुहुन्छ?’। उताबाट पनि ‘अ अनि तपाई’जस्ता कुराहरु आए।मैले उसको प्रोफाइल खोलेर हेरे, साथी हेरे, उसका फोटा हेरे, उसको विवरण हेरे तैपनि न चिनेको, न कतै देखेको, न कतै सुनेको, न उसको बारेमा केहि नै जानकारी पाएजस्तो लाग्यो। त्यसपछि सर्वप्रथम त परिचय गर्यौ, परिचयको क्रममा उसले आफ्नो नाम ‘रेखा भट्टराई’ ठेगाना ‘पटौटी-६,निगाली, आर्घाखाची’ बताई। पहाडी गाउ म त्यो गाउमा धेरै पटक गएको हुनाले चिन्ने प्रयास गरे र उसले पनि गरी । तर गाउ भरिको नाता लगाउदा पनि चिन्न सकिएन त्यसैले अन्त्यमा ‘हामी अपरिचित नै रहेछौ’ भन्ने पुस्टी भयो।

मैले उसको बारेमा अल्लि बढी जान्न चाहेजस्तो गरे र उसको उमेर, काम, पढाई, वैवाहिक स्थिति लगायत सोध्नुपर्ने सप्पै सोधे तर सोचेजस्तो, खोजेजस्तो उत्तर पाउन सकिन। उमेर छब्बिस यसको मतलब मैले सोचीहाले ‘कुनै जागीरे हुनुपर्छ’ र सोधिहाले “के काम गर्नुहुन्छ?”। उताबाट सहजै उत्तर आयो “घरायसी काम” । मैले फेरी सोचिहाले पक्कै पनि उ गृहणी नारी हुनुपर्छ अनि मैले सोधिहाले “बाबु नानी कति छन् त?” उताबाट जवाफ आयो “बिहे नै भएको छैन, कहाबाट बच्चाबच्ची हुनु नी”। हाहा मलाई हासो लाग्यो, एकछिन सोचे पक्कै पनि उसले पढ्दै हुनुपर्छ, अनि सोधिहाले तर यसको जवाफ यस्तो आयो ‘पढाइ त एस.एल.सी गरेर छोडेको दश बर्ष भयो रे’।

म आश्चर्यचकित भए, अनि मनमा केही सोचिहाले ‘यस्तो खालको मान्छे तैपनि केटी कतै पनि आजसम्म भेटेको थिइन। छब्बीस बर्षको उमेर, न पढ्दै छ, न कुनै जागिरे नै, न त बिहे नै गरेकी । पक्कै पनि यो बिशेष खालको केटी हुनुपर्छ। पक्कै पनि यस भित्र केहि रहस्य लुकेको हुनुपर्छ।’ अघि देखि जान्न खोजेको कुरा झलक्क याद आयो ‘किन उसले आफ्नो नामको अगाडी डाक्टर  , इन्जिनियर, मिस, मिसेस  तथा अरु नै हाल्नुको सट्टा अभागी भन्ने राखेकी होला त?’ मैले बल्ल अनुमान गर्न सके की  ‘सबैतिर बाट धोका र पीडा पाएर तथा सोचेजस्तो कुनै काम नभएर नै होला, आफ्नो भाग्यलाई सराप्दै अभागी नाम जोडेकी होली।’ उसले र मैले धेरै कुरा गर्यौ। उसले ‘म गरिब हु, अभागीनि हु’ भनेर आफूलाई देखाउन चाहिरहेकी थिई। तर मैले उसका हरेक कुरालाई खण्डन गर्दै तर्कहरु दिदै गए। मैले “तपाई गरीब हुदै हैन, गरीबहरुले कहिल्यै पनि आफूलाई गरीब हु भन्दैनन् । यसको मतलब जसले आफूलाई गरीब हु भन्छ उ वास्तविक गरीब होइन। गरिबहरुसग मोबाइल हुदैन, भएपनि चार्ज गर्न विद्युत हुदैन। गरीबहरुले मोबाइल/इन्टरनेट चलाउने पैसाले बिहान साझको छाकको लागी जोह गर्छन्।” जस्ता तर्कना दिइरहदा उसका यी तर्कनासग भिड्ने खालका कुनै पनि विचार आएनन्।

यत्तिकैमा मैले प्रसङ्ग बदल्ने गरी प्रश्न गरे “हामी कसरी साथी भयौ त? ” उताबाट यस्तो जवाफ आयो “मैले हजूरलाई एड गरे तपाइले स्वीकार गर्नुभयो।” मलाई अझ जान्न मन लाग्यो “यस्तो नचिनेको अनि मन नमिल्ने मानिसलाइ किन एड गरेको त ?” उसको प्रतिक्रिया यस्तो थियो “मलाई हजुरका गजल, कविता, लेख, स्टाटस मन पर्यो अनि एड गरे । मैले कुनै गल्ती गरेको भए बल्क गर्न सक्नुहुन्छ “। मलाई भित्रभित्रै खुसि लाग्यो। मलाई थाहा थियो ‘मेरा लेखहरु त्यस्तो खालको मानिसलाई मन पर्छ र केही बुझ्न सक्छ, जो ती लेखहरुमा  लेखिएको आवाज आफ्नै लागी हुन भनेर लिन्छन र पीडाको भुमरीबाट उम्किन खोज्दैछन्।’ मैले उसलाई धन्यवाद दिए अनि सुत्ने समय भएकाले बिस्तारा तिर लागे।

मैले बिस्तारामै पल्टिएर धेरै बेर सोचे। ‘बिचरा एक गाउकि नानी, जसको उमेरले नेटो काटिसकेको छ,जिन्दगीको दौडेनमा बिचैमा पुगेर उसलाई पछारिएकी छ, पछाडी पारिएको छ। बिचरा अत्यन्त सोझी, कसैको साहारा न्यानो मायाको आश गरेर बसेकी छ। आफ्नो दुख सबैलाई सुनाउछे, आफैले आफैलाई धिक्कार्दै छे।आफ्नो भाग्यलाई सराप्दै छे। आफैले आफैलाई अभागी ठानेकी छ “साच्चै के उ अभागी नै होली त??” ज्ञान, बुद्धि र विवेकको तहमा पछाडी परेकी छे तर दुखको अनुभवमा अगाडी छे, अनुभव गरेरै केही कुरा सिक्दै छे। कसैको प्रश्न प्रति पनि तार्किक अठिलो उत्तर दिन सक्दिन। जसले पनि सिधै फसाउन सक्ने खालकी छे, आफ्नो कमजोरी पक्ष जसलाई पनि देखाउछे। बिचरा उसैलाई पनि थाहा छैन होला त्यो कमजोरी पक्षमा अरुले आक्रमण गर्न सक्छन् अनि त्यही कमजोरी पक्षबाट अनेकौ फाइदा लुट्न सक्छन् भन्ने कुरा ‘। यस्तै यस्तै अनेकौ कुरा मनमा खेलाउदा खेलाउदै भुसुक्कै निदाएछु।

अर्को दिन, अघिल्लो दिनको त्यो कुराले मनमा हरक्षण उसैको बारेमा कुराहरु आउन थाले। त्यसैले गर्दा दैनिक काम समेत राम्रोसग गर्न सकिरहेको थिएन्। हुन त एक मनले भन्दै थियो, “यस्ता केटी गाउघरमा कति छन् कति छन्, उजस्ता हरेक केटी यस्तै बिबिध समस्याबाट पीडित छन्। तलाई केको बाल मतलब?  तैले पनि उसलाई प्रयोग गर, झ्याउ लागेपछि फ्याकिदे । मोजमस्तीको रुपमा ले । आएको मौका नछोड।” तर अर्को मनले खबरदार भन्दै लठ्ठी उठायो। त्यसैले मैले त्यस्तो गर्न सकिन तथा खोजेन पनि । मलाई कताकता सङ्का पनि लाग्यो। ‘साच्चै त्यो केटी होकी हैन? केटी भएपनि उसले मलाई ढाटेकी हो की? ‘ यस्तै सङ्का र सहानुभुतिका भाव बोक्दै सधै जस्तै गरि बाहिरी काम सकेर खाना खाएर कोठामा फर्किए। सधैजस्तै त्यसदिन पनि सररर फेसबुकका पानाहरु पल्टाउदै थिए। त्यत्तिकैमा एउटा सन्देस आयो उही हिजो कै केटीबाट। मैले उसलाई बिर्सने अनेक प्रयास गरेको थिए। यस्ता केटी कति छन् कति छन्। हरेकसग केही न केही पीडा त भैहाल्छ नी। यसरी फेसबुकमा अरुको दिल पगालेर लुट्ने लुटेरा पनि कति छन् कति छन्। त्यसैले मैले उसलाई बिर्सन खोजीरहेको थिए। मैले धेरै बेरसम्म उसको त्यो सन्देस पढ्न इन्कार गरे तर एक मनले त्यो सन्देश नहेरीकन बस्नै मानेन। उसले मबाट केही कुराको आश गरेको हुनुपर्छ। कहिले काही त मैले पनि यसै गरि सहयोग माग्नु पर्ने हुनसक्छ। त्यसकारण सन्देश पढे र त्यसको जवाफ पठाइहाले। एकछिन कुरा भयो त्यसपछि उसले मेरो फोन नम्बर मागी। म त्यो बेलासम्म अत्यन्त भाबमा डुबिसकेको थिए मानौ कि मैले नै त्यो दुख भोगीरहेको छु जसरी। सबै मन पग्लिसकेको थियो त्यसैले नम्बर पनि चुहिहाल्यो।

एकछिनमा उताबाट फोन आयो। एउटा अधबैसे आइमाईको जस्तो बोलि सुरिलो बोलिमा ओभरटोन मिसिएजस्तो, मानौ की यो हजारौ पीडावाट छ्ट्पटिदै बचाऔ बचाऔ भन्दै कुनै आश्रयको खोजीमा औतालिएको जस्तो। उसको बोलिले सिधै बताउथ्यो कि उ बास्तबिक पीडित नै हो। मैले वास्तविक पीडा बुझ्न चाहे र बुझ्ने प्रयास पनि गरे। मेरो कर र पीडा बुझ्ने रहरका कारण उसले आफ्नो वेदना सुनाउन मन्जुर भइ। उ आफ्नो पीडाको ध्वनी बजाउदै थिई। मेरो मन मस्तिष्क पुरा अङ्गअङ्गले प्रश्न राख्दै त्यो अभागीनिका आवाज सुन्दै गयो।

उसको कुरा अनुसार-
उ सानै हुदा देखि नै उसका बुबाआमा दुबै दीर्घकालिन बिरामी दैनिकी कामहरु पनि गर्न नसक्ने जस्ता, त्यसैमाथी भएको एउटा भाई पनि अपाङ्ग शारीरिक रुपले असक्षम, अब बाकी रहेका दाजु र उ दुइ बहिना लाई आजसम्म घाटीमा पासो झुन्डिरहेको छ। भएको अलिकति खेत, बारी, सम्पति सबै बुबाआमा र भाईको उपचारमा खर्चिएछन् अझ रिन पनि काडिकाडि। अहिले त्यस्तो पहाडको ठाउमा पनि एउटा बस्नलाई छाप्रो र थोरै घर वरीपरि बसेर घाम ताप्नका लागि केही जग्गा छ, बिहान साझको खाना भन्ने केहि छैन, बर्षौबर्षदेखि एउटै कपडाले जीउ ढाकिरहेका छौ भनेर उसले भनेको सुन्दा म त तुरुक्कै रोइहाले। उसको दाजु सानै छदा नै राम्रोसग लेखपढ गर्न नजान्दै नै भारत पसेर भाडा माझ्न जानुपर्यो। उसले जनतन एस्.एल.सी त गरी तर त्यसभन्दा बढी पढ्न र गर्न सक्ने न त घरको न त उसैको नै क्षमता थियो।

दाई इन्डिया घरमा बिरामी बुबाआमा र अपाङ्ग भाई, उसले सबैको हेरचाह गर्नुपर्यो, सबैलाई पाल्नुपर्यो, घरको कामधन्दा एक्लैले गर्नुपर्यो, एक जनाको कमाईमा चारचार जना भर पर्नुपर्यो। कसरी पुग्थ्यो? उनीहरुले धेरै नै दुखकष्ट भोग्नुपर्यो, सहनुपर्यो। एउटा रसिमा भएभरिका सबै झुन्डिने तैपनि रसी कमजोर कुनै बेला रसि चुडियो भने सबै खस्ने, हो यस्तै भएको थियो त्यहा पनि। उ पनि सानै उमेरदेखि नै मेलापात धाउने, काम गर्ने, दुईचार मुठी अन्न बटुल्ने, लगायत पाचदश रुप्पे कमाउने हरेक काम गर्नुपर्यो। उसको बुबालाई दम, मधुमेह र नशासम्बन्धि रोगले अति नै सतायो। उनीहरुले गर्नुसम्मको सहयोग गरे, पाल्पा बुटबलका केही हस्पिटलमा रिन काडिकाडि लगे तर आवश्यक उपचार खर्च बेहोर्न नसक्दा र कम गुणस्तर औषधी उपचारले गर्दा नै होला कहिल्यै बिसको उन्नाइस भएन। श्वास रहे ज्यान रहे हर चिज रहन्छ भनेर लागे आखिरमा न बुबा न धन दुबै गयो। त्यसले परिबारमा बाकी रहेको थोरै मात्र खुसी पनि खोसिएर गयो। आमा पनि उस्तै बिरामी नसासम्बन्धित  र मानसिक। बेलाबेलामा पक्षघातबाट थलिइरहन्छिन उनी पनि। उता भाईको अबस्था पनि उस्तै बेकारको बोझ मात्रै। आमाको स्वास्थ्य अबस्था झनझन नाजुक बन्दै गइरहेको छ। कम्तिमा पनि महिनाको छ हजारको औषधि आवश्यक पर्छ उनलाई। उपचार खर्च, दैनिक छाक टार्न खर्च, बर्षमा एकसरो लगाउनमा खर्च, दाईको बिहेको खर्च, बुबाको उपचार खर्च र काजक्रिया खर्च सबै एकपछि अर्को गर्दै थपिदै छन् रिन बढ्दै छ घटने सुरसार नै छैन । क्या पीडामा रहेछ परिवार।
एकजनाको एकदम थोरै कमाइ, खर्च एकदम धेरै, रिनैरिन, समाजमा पनि मुख देखाएर न त बस्न नै सक्ने अबस्था छ नत भिख माग्दै हिड्ने अवस्था छ उनीहरुको।’ उसको यति कुरा सुनिसक्दा आखाबाट आशुको खोला नै फुटीसकेको थियो। उसको पनि अत्यंत पीडामा रुमलिएर आएको आवाज सुनिएको थियो । उ अझै रुदै थप्दै गई, “जब दाईको बिहे भयो, भाउजु आएपछि घरमा केही राहत भएको छ। भाउजु हामी जस्तै दुखी परिवारबाट हुर्केर दुख पाएर आउनु भएकाले एकदमै जागरिली हुनुहुन्छ। उहा आइपुग्दा मेरो उमेरले नेटो काटिसकेको थियो, मैले फेरी पढ्न पाउने कुनै समय नै थिएन्। ल अव तपाई नै भन्नुस त म कसरी एस्.एल्.सी भन्दा बढी पढ्न सक्थे? सिप योग्यता र पावर नभएको मानिसलाई कसले जागीर दिन्छ र ?? यो परिबारलाई यो भुमरीबाट उद्धार नगरिकन तथा दाईको बिहे नभइकन मैले बिहे गर्नु भनेको परिवारका सबैलाई चिहानमा लैजानुजस्तै हो, बिहे गर्न पनि यस्तो पहाडी गाउकी केटी एक त घरको अबस्था यस्तो देखेर दाइजो लिनुको सट्टा अझ उल्टो सहयोग गर्नुपर्छ भन्ने सोचेर कुनै पनि केटा आएनन्। अहिले पनि घर परिवारलाई यस्तो अबस्थामा छोडेर बिहे गर्न सक्दिन। अब मेरो लागी बिहे, पढाई, जागीर सबै असम्भव छन्। जे होला जस्तो होला मेरो जीवन यस्तै गर्दै चलिरहेको छ। यसको न त कुनै आधार नै छ न त कुनै उपाय नै छ।” यस्तै कुरा सुनाउदै थिई म सुन्दै थिए टुइटटुइट गर्दै फोन बिचैमा कट्यो।

बिचरी त्यो केटी २६ बर्षको उमेरसम्म आफ्नो बारेमा एक शब्द पनि नसोचिकन घर परिवार बुबामम्मीको लागी भनेर लागी परि। आखिरमा अहिले उसको जीवन दिशाबिहिन छ । उसको जीवन अव कसरी कट्छ यसै भन्न सकीदैन्। उसको कुरा सुन्दा उसले अब यो जीन्दगी देखि नै वाक्क लागेको जस्तो, बाच्नुको कुनै औचित्य नभएको जस्तो सोचेजस्तै लाग्थ्यो। अनि उसले मनको त्यो तातो पीडा अलिकति चिस्याउन आफ्नो वेदना अरुलाई सुनाउने गरेको जस्तो लाग्यो।

आफ्नै जिन्दगी देखी धिक्कार मान्ने, आफ्नो भाग्यलाई आफै दोषी देख्ने, सधै चिन्ता गर्ने, आफैले आफैलाई घृणा गर्ने जस्ता प्रवृत्तिले उ पनि दिर्घकालिन रोगको सिकार नहोलि भनेर भन्न सकिदैन। उसको त्यस्तो अवस्था देखेर मलाई केही सहयोग गरौ गरौ लाग्यो। हुन त मैले कति के नै पो सहयोग गर्न सक्थे र? मैले जम्मा पाच रुपैया दिएर पो के गर्न सक्छे र उसले। अनि उसलाई न त म नै सधैभरि साथ दिएर सघाउन नै सक्थे। मसग भएका तिन चिज मध्ये दुइ चिज तन र धनले धोका दिइसकेका थिए उसलाई सहयोग गर्न। अन्त्यमा म सग बाकी नै थियो एउटै मन। हो मैले एकछिन सोचे मैले पाच रुपैया दिएजस्तै धेरैले पाच रुपैया दिएमा उसलाई कयौ हुन्थ्यो। मैले एकछिन साथ सहयोग दिएझै धेरैले साथ दिएमा उसले जीन्दगीभरि नै साथ र सहयोग पाउने थिई। मैले फेरी सोचे उसको नाममा एउटा लेख लेखी सबैमाझ पुर्याएर उसलाई सहयोगको लागी अपिल गर्न सके भने र उसलाई समस्याबाट सार्थक रुपमा कसरी बाच्ने भन्ने सिकाउन सके भने मात्र मैले उसलाई गरेको सहयोग सहयोग जस्तो हुने थियो। अनी उसले पनि हामीले जस्तै सुखि र खुसी जीवन जीउन सक्थी। यस्तै उ र उजस्ता कयौ मानिसले समस्याहरुमाझ कसरी बाच्ने भन्ने बारे केही पाठ सिक्नेछन्। यो धारणा चाहि राम्रो लाग्यो र यो लेख लेख्न पुगे। यो लेख जुन तरीकाले लेखे त्यो तरीकाले प्रकाशन नगरेर एक बर्ष पछि प्रकाशन गर्दै छु।

सबैले यो बुझ्नुपर्छ की
हरेक प्राणी, मानिसलाई हरबखत केही न केही समस्याले सताइरहेको हुन्छ। उनीहरु मध्ये कोही खुसी र कोही दुखी देखिनुमा उनीहरुले ती समस्याहरुलाई कसरी लिएका छन् भन्ने कुरामा निर्भर रहन्छ। संसारका सबैभन्दा ठुला र सफल मानिसलाई नियाल्ने हो भने पनि यो कुरा पुस्टि हुन्छ की, ‘उनीहरु त्यो सफलता चुम्न धेरै नै समस्या भोगेर मात्र सफल भएका हुन’।

संसारका मुख्य चार समस्या जन्म, मृत्यु बुढोपन र रोग हुन्। यी समस्याहरुबाट नत कोही टाढा नै भाग्न सक्छ नत कोही यी समस्याहरुलाई हटाउन तथा भगाउन नै सक्छ। आखिर सबै जन्मनुपर्छ, म बुढो हुन चाहन्न भनेर पनि हुदैन, रोगबाट टाढा भाग्छु रोगलाई हटाउछु भनेर पनि सम्भव छैन, यस्तै सबै एकदिन मर्नै पर्छ। हरेक जीव मुख्य यी चार समस्याबाट पीडित हुन्छन्।

           समस्यासग प्रतिक्रिया गर्ने चार ओटा तरिका छन्; समस्याबाट टाढा भाग्न खोज्नु, समस्यालाई टाढा भगाउन खोज्नु, समस्यासग जुध्नु तथा समस्याको समाधानको बाटो खोज्नु र समस्यासग तटस्थ रहनु। यी चार मध्ये सबैभन्दा उत्तम समस्यासग तटस्थ रहने नै हुन्छ। जो समस्यासग तटस्थ रहन्छ, समस्याहरुको कुनै परवाह नै गर्दैन, आफ्नो काममा लागी पर्छ, उ मात्र जीवनमा सफल हुनसक्छ, उ मात्र सुखि खुसि भएर बाच्न सक्छ र उसले मात्र जीवनलाई राम्रोसग बुझेको हुन्छ। हामीहरु समस्याबाट जति नै टाढाटाढा हुन खोजौला तर समस्या हामीबाट कहिल्यै टाढा भाग्दैन। त्यस्तै समस्याहरुसग जुध्दै समस्याहरु समाधान गर्दै गइयो भने ‘ब्रह्मचारी चेलोको कथा’मा जस्तै एक समस्या समाधान गर्यो कि अर्को नया अझै ठुलो समस्याले सताइहाल्छ। हामीले गर्न आटेको कुनै पनि काम राम्रोसग गर्नै सकिदैन। सारा जिन्दगी नै समस्या समाधान गर्दै बित्दछ। तर एकपछि अर्को गरि आउने ती अनगीन्ति समस्या कहिल्यै हट्दैनन्। बरु जो समस्याहरुलाई केही वास्ता नै गर्दैन्, समस्याहरुलाई समस्याको रुपमा लिदैन, समस्यालाई अझ काम गर्ने उर्जाको रुपमा लिन्छ, भएभरका समस्याहरु भोग्दै तिनीहरुसग लडाइ नगरिकन, तिनीहरुलाई नबोकिकन आफ्नो काममा अगाडी बढ्छ, आफ्नो लक्ष्यमा तल्लिन रहन्छ, उसले मात्र जीवनमा केही गर्न सक्छ र अन्त्यमा सफल भएरै छोड्छ। तपाईले हरेक सफल ठुलाठुला व्यक्तिको जीवनी हेर्नुस, यहि रहस्य भेटाउनु हुनेछ।

         यदि तपाई आस्तिक हुनुहुन्छ भने यसरी बुझ्नुहोस-
तपाई यस संसारमा दुई दिनको पाहुना हो। तपाईले यस संसारमा अझै कयौ जुनी बिभिन्न प्राणीहरुको रुपमा बिताउन बाकी नै छ। अहिलेको जन्मका बुबा आमा, घरपरिवार, साथिभाई अर्को जन्ममा के बन्छन् के बन्छन् केही टुङ्गो छैन, तपाईको दुस्मन पनि बन्न सक्छन्। उनीहरुले आफ्नो कर्तव्य तपाइप्रति कति पुरा गरे त्यो नहेर्नुहोस। त्यो हेर्ने काम तपाईको हैन। तर तपाइले उनीहरुलाई गर्नुपर्ने कर्तव्य कहिल्यै नभुल्नुहोस। त्यसैले यस्ता कुराको लेखाजोखा माथिबाट नै गरिएको हुन्छ। तपाईले कर्म अनुसारको फल यहि जन्ममा वा अर्को जन्ममा अवश्य पाउनुहुनेछ। तपाईको आयु, तपाईको भबिष्य, तपाईले पाउने दुखसुख सबै पहिले नै निर्धारण गरिएको हुन्छ। तपाईले यसलाई चाहेर पनि परिवर्तन गर्न सक्नु हुन्न। तपाई यदि बिरामी हुनुभयो भने पनि आफ्नो दैनिकि काम सकि नसकि भएपनि गर्ने प्रयास गर्नुस, म बिरामी भएको छैन भन्ने सोच्नुस, मलाई कुनै समस्या दुख कष्ट आइपरेको छैन भनेर सोच्नुस, आफ्नो आहारबिहार, सरसफाईमा ध्यान दिनुस्। तपाइले आफ्नो क्षमताले भ्याएसम्मको गर्नुहोस्। नचाहिदा खर्च गर्ने, रिन लगाइ लगाई उपचार गर्ने, अरुलाई दुख दिने पटक्कै नगर्नुहोस्। मुख्य चार समस्या लगायत कुनै पनि समस्याबाट नआत्तिनुहोस, नडराउनुहोस, ती समस्या सबैले भोग्नुपर्छ।यि चार समस्या भन्दा माथिमाथिका कुरा सिक्दै जानुहोस, अरुलाई पनि सिकाउदै जानुहोस। जन्म मृत्यु तथा ती चार समस्याको वास्तै नगर्नुहोस। मन ज्ञान तथा बुद्धिको तहलाई बढाउदै जानुहोस। आफ्नो जीवनका लागी एउटा लक्ष्य लिनुहोस्। लक्ष्यप्रति कटिबद्ध भएर लाग्नुहोस्। यति गरे पछि अन्त्यमा सफलता के तपाईले नपाएर मैले पाउछु त? ल भन्नुस।

©लेखक:- pauelpadamprasad
@[1532224840382998:]
कपिलबस्तु (हाल धरान ) paudelpadamprasad@gmail.com

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )